६ हजारलाई मात्र आइपीओ पर्ने आदर्श लघुवित्त, कस्तो छ कम्पनी ? आबेदन दिनु अघि जान्नुस्

काठमाडौं : आदर्श लघुवित्तले असार १ गते बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ६७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यो मध्ये ५% अर्थात् ३ हजार ३५० कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६२ हजार ६१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा असार ६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार १५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा बीओके क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ

क्रेडिट रेटिङ एजेन्सी कियर नेपालले आदर्श लघुवित्तको आइपीओलाई ‘कियर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०७८ असोज १८ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ असोज १७ गतेसम्म बाहल रहनेछ ।

कति कित्ताका लागि दिने आवेदन ?

आदर्श लघुवित्तको आइपीओ पाउन पनि लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६२ हजार ६१५ कित्ता मात्र सेयर निष्कासन गरेकाले माग भन्दा निकै धेरै आवेदन पर्ने अनुमान गर्न सकिन्छ । पछिल्लो समय आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । पछिल्लो पटक प्रत्येक आइपीओमा २७ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिन थालेका छन् ।

यसलाई आधार मान्दा आदर्श लघुवित्तको आइपीओमा पनि माग भन्दा निकै बढी गुणा आवेदन पर्नेमा कुनै शंका छैन । आदर्श लघुवित्तको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ६ हजार २ सय जनाले मात्र सेयर हात पार्नेछन् । यस आधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १ हाजर कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

कम्पनी सम्बन्धी विवरण

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको कम्पनी हो । यस लघुवित्तको रजिष्टर्ड कार्यालय बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ७ मा रहेको छ । आदर्श लघुवित्त २०७५ जेठ ९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो ।

यसले २०७५ कात्तिक २५ गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो भने औपचारिक रुपमा २०७५ पुस १ गतेदेखि कारोबार सुरु गरेको थियो । हाल यस लघुवित्तले ७ वटा शाखा कार्यालयहरु स्थापना गरी कारोबार गर्दै आइरहेको छ । आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर शाखा, उपशाखा वा अन्य कार्यालय खोली कारोबार गर्न सक्नेछ ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

आदर्श लघुवित्तको अधिकृत पुँजी ४ करोड रुपैयाँ र जारी पुँजी २ करोड ७ लाख रुपैयाँ छ । जारी पुँजीमध्ये १ करोड ४० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । बाँकी ६७ कित्ता आइपीओ जारी गर्न लागिएको हो । आइपीओपछि चुक्ता पुँजी जारी पुँजी बराबर अर्थात २ करोड ७ लाख रुपैयाँ पुग्नेछ । आइपीओपछि कम्पनीमा संस्थापक हिस्सा ६७.३३% र सर्वसाधारण हिस्सा ३२.३७% हुनेछ ।



चालु आर्थिक वर्षको अन्त्यसम्म आदर्श लघुवित्तले ३५ लाख ७३ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७९–८० मा ४४ लाख ४२ हजार रुपैयाँ र आव २०८०–८१ मा ७२ लाख ३१ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी २० रुपैयाँ ६० रुपैयाँ पुग्ने प्रक्षेपण रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९–८० मा प्रतिसेयर आम्दानी १८ रुपैयाँ १९ पैसा र आव २०८०–८१ मा २५ रुपैयाँ ०९ पुग्ने अनुमान रहेको छ । साथै, चालु आर्थिक वर्षको अन्त्यमा यस लघुवित्तको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ८२ पैसा र आव २०७९–८० मा १२८ रुपैयाँ २७ पुग्ने अनुमान रहेको छ ।

प्रमुख कार्यकारी अधिकृत र आधारभूत सेयरधनीहरु

आदर्श लघुवित्तको प्रमुख कार्यकारी अधिकृतको पद राजेश शर्माले सम्हालेका छन् । उनको शैक्षिक योग्यता स्नातकोत्तर रहेको छ । कम्पनीको आधारभूत संस्थापक सेयरधनीको रुपमा महिला आदर्श सेवा केन्द्र बानेश्वर काठमाडौं र गरिमा विकास बैंक रहेका छन् । जसमा महिला आदर्शले ५० हजार कित्ता र गरिमा विकास बैंकले २४ हजार कित्ता लगानी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय