सयपत्री हाइड्रोपावरको आइपीओमा आवेदन दिनुअघि हेरौं कस्तो छ कम्पनी ?

काठमाडौं : सयपत्री हाइड्रोपावरले शुक्रबार साउन १३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५% अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २% अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ ।

यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । छिटोमा साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने साउन २७ गतेसम्म खुला रहनेछ । आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

साथै, मेरोसेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ । सयपत्रीले बाग्लुङ्ग जिल्लामा २.५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत आयोजना निर्माण गरेको छ ।

रेटिङ

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सयपत्रीलाई ‘केयरएनपी डबल बी आइएस’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । केयर रेटिङले २०७८ फागुन ४ गते उक्त रेटिङ दिएको हो । यो रेटिङ २०७९ माघ २१ गतेसम्म कायम रहन्छ ।

कति कित्ताका लागि दिने आवेदन ?

सयपत्रीको आइपीओ पाउन लगानीकर्ताले भाग्यमै भर पर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ७० हजार ५८३ कित्ता मात्र सेयर निष्कासन गरेकाले माग भन्दा निकै धेरै आवेदन पर्ने अनुमान गर्न सकिन्छ । विगतलाई आधार मान्दा आवेदन दिएका सबैलाई आइपीओ पर्ने सम्भावना कम देखिन्छ । सयपत्रीको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ६७ हजार ५८ जनाले मात्र हात पार्नेछन् ।

यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहने ३ कित्ता सेयर भने १० कित्ताभन्दा बढी आवेदन दिएका मध्ये ३ जनालाई १ कित्ताका दरले थप हुनेछ । यस आधारमा हेर्ने हो भने सयपत्रीको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । थप १ कित्ता सेयर पनि पर्छ भन्ने लागेमा भने २० कित्ताका लागि आवेदन दिन सकिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण

सयपत्री हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित भएर २०६४ साउन १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । पछि मिति २०७३ चैत ८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएर कारोबार गर्दै आएको छ । यसको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिकाको वडा नं ७ चाबहिल काठमाडौंमा रहेको छ ।

सयपत्री हाइड्रोपावरको आयोजना स्थल (जलविद्युत केन्द्र) बाग्लुङ जिल्ला, ताराखोला गाउँपालिका वडा नं. २ र वडा नं. ३ मा रहेको छ । कम्पनीले बाग्लुङ जिल्लास्थित दरम खोलाको पानी प्रयोग गरी २.५ मेगावाट क्षमताको ‘दरम खोला ए’परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी गराएको छ । २०७३ साल असार १२ गतेदेखि आयोजनाबाट व्यापारिक उत्पादित सुरु गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्रीसमेत गरिरहेको जनाएको छ ।

यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने अनुमति २०७० जेठ २ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र विसं २१०५ जेठ १४ गतेसम्म बाहल रहने कम्पनीको भनाई छ । आयोजनाको कुल लागत ५३ करोड ४५ लाख ८ हजार २२९ रुपैयाँ रहेको छ ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

सयपत्रीको अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी ३० करोड रुपैयाँ रहेको छ । यसमध्ये संस्थापक सेयरधनीबाट २१ करोड रुपैयाँ चुक्ता भइसकेको छ । आयोजना प्रभावित स्थानीय, सर्वसाधारण, म्युचुअल फन्ड र कम्पनीका कर्मचारीको गरी कुल ९ करोड रुपैयाँ लगानी रहनेछ । हाल जारी हुन लागेको सबै सेयर पुँजीकृत भएपछि चुक्ता पुँजी पनि जारी पुँजीको बराबर अर्थात् ३० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ७०% रहनेछ । यस कम्पनीले आर्थिक वर्ष २०८०–८१ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने ३० करोड रुपैयाँ पुँजी नै यथावत रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म ३ करोड ७६ लाख ५४ हजार रुपैयाँ खुद नाफा गर्ने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ ।

त्यस्तै, २०८०—८१ मा ३ करोड ९५ लाख ८ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी १२ पैसा ५५ पैसा र प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ५७ पैसा पुग्नेछ । आर्थिक वर्ष २०८०–८१ सम्ममा प्रतिसेयर आम्दानी १३ रुपैयाँ १७ पैसा पुग्नेछ । प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ७४ पैसा हुने प्रक्षेपण छ ।

व्यवस्थापन तथा आधारभूत सेयरधनीहरु

यस कम्पनीमा सुनगाभा फाउन्डेसन प्रा.लिले सबैभन्दा धेरै २ लाख १८ हजार १७६ कित्ता सेयर लगानी गरेको छ । यस्तै, रुसको राजधानी मस्कोका गैरआवासीय नेपाली बद्री केसीले २ लाख ५ हजार ३९० कित्ता सेयर लगानी गरेका छन् । उनी सञ्चालक समितिको अध्यक्षसमेत रहेका छन् । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी केदार के.सीले सम्हालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय