पिपुल्स पावरको आईपीओमा आवेदन दिनु अघि कम्पनी कस्तो छ ? हेरौं

पिपुल्स पावर लिमिटेडले आज मंगलबार (साउन ३१ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ६७ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात एक लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी रहने २२ लाख ९४ हजार ६८२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड २६ लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ६ करोड ३२ लाख ६० हजार रुपैयाँ र सर्वसाधारणलाई २४ करोड ६७ लाख ४० हजार रुपैयाँ गरी ३१ करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गरेको शेयरमा भदौ ५ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे भदौ १४ गतेसम्म म्याद थप हुनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्तम १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतिकर्तामा नेपाल बंगलादेश क्यापिटल र सिभिल क्यापिटल लिमिटेड रहेका छन् ।

औषत जोखिम रहेको जनाउने रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

केयर नेपालले कम्पनीको आईपीओलाई २४ मे २०२२ मा रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्ष अर्थात २७ अप्रिल २०२३ सम्म कायम रहन्छ ।

कस्तो कम्पनी हो?

पिपुल्स पावर लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम स्थापित भएको छ । नेपालमा रहेको अपार जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी संभाव्यता अध्ययन, निर्माण र संचालन गर्ने र यस कम्पनीमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) का बासिन्दा तथा सर्वसाधारणहरुको जनसहभागिता बिस्तार गर्ने उदेश्यले २०७३ माघ १३ गते पव्लिक लिमिटेड कम्पनीमा दर्ता भई पिपुल्स पावर लिमिटडको नाममा कारोबार संचालन गर्दै आएको छ ।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २, खुर्सानिटारमा रहेको छ । कम्पनीको जलविद्युत उत्पदान केन्द्र भने इलामको इलाम नगरपालिका वडा नं. १ र ४ मा रहेको छ ।

कम्पनीले ४.९६ मेगावाट क्षमताको पुन–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण सम्पन्न भइसक्दा आयोजनाको कूल लागत ९५ करोड ६ लाख ६९ हजार रुपैयाँ हुने र प्रति मेगावाट औसत लागत १९ करोड १६ लाख हुने अनुमान गरेको छ ।

साथै साधारण लगानी फिर्ता हुने अवधि ८.०५ वर्ष र डिस्काउन्टेट तर्फ लगानी फिर्ता हुने अवधि १४.६६ वर्ष रहेको छ ।

दुई वर्षमा सञ्चित नाफा ७ करोड माथि पुर्याउने

कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ७ करोड २० लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा कम्पनी १ करोड ६२ लाख रुपैयाँ नोक्सनीमा रहेको थियो ।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ७२ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै गत आर्थिक वर्षमा भने कम्पनी १ करोड ९१ लाख रुपैयाँ नोक्सानी पुगेको थियो ।



यस्तै आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ३९ पैसा र प्रतिशेयर आम्दानी १० रुपैयाँ २४ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ४६ पैसा नोक्सनीमा रहने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय