शेरबहादुरजीले मलाई प्रधानमन्त्री बनाउनुहुन्छः माधव नेपाल

काठमाडौं, २८ कात्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं रौतहट १ का उम्मेदवार माधवकुमार नेपालले आफ्नो जितप्रति ढुक्क नभएकाले रौतहट नछाडेको भन्नु कुप्रचार मात्र भएको बताएका छन् ।

‘रौतहट मेरो जन्मधर्ती हो । यहाँका जनताले मप्रति सदैव प्रेम र सद्भाव राख्ने गरेका छन् । असल व्यक्तिका रुपमा चिनेका छन् । माधव नेपाललाई रौतहटको अर्को नामको रुपमा लिएका छन् । जनताले ढुक्क हुनोस् भनेका छन् । तैपनि चुनावलाई हल्का रुपमा लिनुहुँदैन । जनताले समय मागेपछि दिनुपर्छ भनेर रौतहटमै बसेको छु,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने ।
सातै प्रदेश भ्याएर रौतहट


माधव नेपाल रौतहटमा धेरै व्यस्त हुनुभयो, अन्य निर्वाचन क्षेत्रमा घुम्नुभएको छैन भनिन्छ नि भन्ने अर्को प्रश्नमा उनले भने, ‘शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र म एकै दिनमा दुई प्रदेशमा भ्याउने गरी सातै प्रदेशमा पुग्यौं । रौतहटमा आइसकेपछि अन्यत्र जान समय लाग्छ भनेर यतै बसिरहेको छु ।’

रौतहट मात्र नभएर मधेस प्रदेशको विकासमा आफ्नो भूमिका रहेको पनि नेता नेपालले औंल्याए । उनले भने, ‘चन्द्रनिगाहपुरबाट गौर, वीरगन्जबाट कलैया आउँदा जस्तो चिल्ला बाटो अन्यत्र कहाँ छ ? यहाँजस्तो स्वास्थ्य चौकी, अस्पताल, विद्यालय भवन कहाँ बनेका छन् ? बागमती र बकैयामा तटबन्धन कसले बनायो ? नर्सिङ कलेज, पोलिटेक्निकल इन्स्टिच्युट कसले ल्यायो ? सुनकोसी-मरिण-कमला डाइभर्सन कसले ल्यायो ? निजगढ एयरपोर्ट र फास्ट ट्रयाक कसले ल्यायो ?’
लाइभमै श्रममन्त्रीलाई फोन

तपाईंले फ्री भिसा, फ्री टिकट भनेर जनतालाई ढाँट्नुभयो भन्ने केपी शर्मा ओलीको आरोप छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘सरकारले फ्री भिसा, फ्री टिकटमा विदेश पठाइरहेकै छ । यसबाट के पुष्टि भयो भने केपी ओली पैसा लिएर मात्र पठाउँदा रहेछन् । उनी कमिसनखोर संरक्षक हुन् । लुटेरा जमातका नाइके हुन् । जनतालाई चुसेर लुटेर खान चाहन्छन् । सचेत बनाउन चाहँदैनन् । केपी ओली सबभन्दा ठूला मिटर ब्याजी हुन् । त्यो त उनको आम्दानीको स्रोत रहेछ । माधव नेपालले अब पोल खोल्ने भयो भनेर उनलाई पोलेको पोल्यै छ ।’
नेता नेपालले लाइभ कार्यक्रममै श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवरलाई फोन गरेर यसबारे जानकारी पनि लिए । मन्त्री कुँवरले इन्टरनेसनल म्यानपावरमार्फत फ्री भिसा, फ्री टिकट मात्र नभएर पासपोर्टको पैसा, घरबाट काठमाडौं आउँदाको भाडा, खाना र बस्नको पैसा लिएर वैदेशिक रोजगारीमा जान पाउनेको संख्या ६ सय नाघेको बताए ।
ओलीः दुष्ट्याइँका राजा
केपी शर्मा ओलीले त एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी हुनै दिन्नँ भन्नुभएको छ नि भन्ने अर्को प्रश्नमा नेपालले भने, ‘स्थानीय तह निर्वाचनमा पनि उहाँ यसै गरी बर्बराइरनुभएको थियो । पोखरा, हेटौंडा लगायत ठाउँमा उठ्नै नसकिने गरी पछारिनुभयो । हामीले २७, २८ प्रतिशत उम्मेदवार उठाउँदा ९ लाख भोट पायौं । ९० प्रतिशत ठाउँमा उठाएको भए सय ठाउँमा पनि जित्दैनथ्यो । ओली भनेका दुष्ट्याइँका राजा हुन् ओली । घरघरमा ग्यास र पानीजहाजको गफ हाँक्या छ । कोरोनाका बेला कमिसन खाएको छ । तानाशाहलाई चुनौती दिन सक्ने नेता हो माधव नेपाल ।’ उनले चुनावपछि ओलीसँग मिलेर जाने कुनै गुन्जायस नभएको पनि बताए । उनले भने, ‘केपी ओली नेता होइनन् । उनलाई जोकरको रुपमा माने हुन्छ ।’

एकीकृत समाजवादीको २० सिट
मंसिर ४ मा गठबन्धनको सहज बहुमत आउने र आफ्नो पार्टीले २० सिट नै जित्ने उनले ठोकुवा गरे । आगामी सरकारमा आफू प्रधानमन्त्री हुने सम्भावना जीवितै रहेको पनि उनले बताए । उनले थपे, ‘अहिले प्रधानमन्त्रीको टुंगो लागेको छैन । शक्ति सन्तुलनले जुन बिन्दुमा पुर्‍याउँछ, त्यसै अनुसार प्रधानमन्त्री, राष्ट्रपति र सभामुख पनि तय हुन्छ । पहिले पार्टीले अगाडि सार्नुपर्यो । गठबन्धनले स्वीकार्नुपर्यो । गिरिजाबाबुलाई मैले प्रधानमन्त्री बनाएँ, मलाई उहाँले प्रधानमन्त्री बनाउनुभयो । शेरबहादुरजीलाई म र प्रचण्डले प्रधानमन्त्री बनाएको हो । उहाँले पनि मलाई बनाउन सक्नुहुन्छ । के माधव नेपाल प्रधानमन्त्री बन्न लायक छैन र?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय