बाराही हाइड्रोपावरको आइपीओमा आवेदन दिनुअघि हेरौं कस्तो छ कम्पनी

काठमाडौं : बाराही हाइड्रोपावरले बुधबार मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आवेदन नदिएको १ लाख ४ हजार कित्ता सेयरसमेत थप गरी उक्त सेयर सर्वसाधारणका लागि निष्कासन हुँदैछ । अर्थात, प्रतिकित्ता १०० अंकित मूल्यका दरले कुल ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।

यसमध्ये ५% अर्थात् २७ हजार कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो सेयरमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा एनआइबीएल एस क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ

रेटिङ इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । इक्र नेपालले २०७८ फागुन १३ मा रेटिङ दिएको थियो । यो रेटिङ आगामी २०७९ फागुन १२ गतेसम्म बाहल रहनेछ ।



कति कित्ताका लागि दिने आवेदन ?

बाराहीको आइपीओ पाउन लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिन्छ । कम्पनीले सर्वसाधारणका लागि ५ लाख ५४ हजार कित्ता मात्र सेयर निष्कासन गरेको छ । यसआधारमा, बाराहीको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ५५ हजार ४ सय जनाले मात्र सेयर हात पार्नेछन् । यसआधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण

बाराही हाइड्रोपावर पब्लिक लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०६३ वैशाख १७ गते प्राइभेट लिमिटेड स्थापन भएर २०७१ साल चैत ३ गते पब्लिक लिमिटेडमा परिणत भएको हो । यसको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिकाको बबरमहल, काठमाडौंमा रहेको छ । बाराही हाइड्रोपावरको आयोजना स्थल (जलविद्युत केन्द्र) बाग्लुङ जिल्लाको जैमिन नगरपालिका वडा नं. १, ४ र ५ मा रहेको छ ।

कम्पनीले बाग्लुङ जिल्लास्थित ठेउले खोलाको पानी प्रयोग गरी १.५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्ने अनुमति २०७२ भदौ ७ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र विसं २१०७ असार २७ गतेसम्म बाहल रहने कम्पनीले जनाएको छ । आयोजनाको कुल अनुमानित लागत ३१ करोड २२ लाख १८ हजार ८५१ रुपैयाँ रहेको छ ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

बाराही हाइड्रोपावरको अधिकृत पुँजी ३० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी पनि २५ करोड रुपैयाँ रहेको छ । यसमध्ये संस्थापक सेयरधनीबाट १८ करोड रुपैयाँ चुक्ता भइसकेको छ । आयोजना प्रभावित स्थानीयलाई २ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेकोमा १ करोड ४ लाख कित्ता बिक्री हुन बाँकी छ । त्यो समेत हाल जारी हुन लागेको सबै सेयर पुँजीकृत भएपछि चुक्ता पुँजी जारी पुँजीको बराबर अर्थात २५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ७२%, स्थानीय, कर्मचारी र सर्वसाधारणको गरी २८% रहनेछ । यसले आर्थिक वर्ष २०८१–८२ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आवसम्म आइपीओ बिक्रीपछि कायम हुने २५ करोड रुपैयाँ पुँजी नै यथावत रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म १ करोड १२ लाख २९ रुपैयाँ खुद नाफा गर्ने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ ।

त्यस्तै, २०८१—८२ मा १ करोड ४९ लाख ६६ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ६ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ ७६ रुपैयाँ ८५ पैसा पुग्नेछ । आर्थिक वर्ष २०८१–८२ सम्ममा प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९९ पैसा पुग्नेछ । प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ८६ पैसा हुने प्रक्षेपण छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय