सबभन्दा ठूलो दललाई प्रतिपक्षमा राखेर देश चल्दैनः कांग्रेस सहमहामन्त्री

काठमाडौं, १२ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पार्टी सभापति शेरबहादुर देउवाका कारण गठबन्धन नतोडिएको बताएका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) को जसरी पनि प्रधानमन्त्री बन्ने इच्छाका कारण यस्तो अवस्था आएको उनको दाबी छ ।

‘गठबन्धनमा छलफल चलिरहेको थियो, अन्तिम निर्णय भइसकेको थिएन । संसद्मा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्रीमा देउवाको दाबी स्वाभाविकै थियो । तर पनि हामी गठबन्धन ताड्दैनौं भनेर लागिरहेका थियौं । प्रचण्डले अलिकति धैर्य गरेको भए मिलाउन सकिन्थ्यो । हामी उहाँलाई बनाउन पनि सक्थ्यौं । जसको विरुद्धमा त्यत्रो ठूलो आन्दोलन गर्नुभयो, प्रतिगमनकारी शक्ति घोषित गर्नुभएको थियो, निर्वाचनमा ओलीलाई पराजित गर्न त्यत्रो मिहिनेत गर्नुभएको थियो, अहिले उसैसँग मिल्न जानुभएको छ । यसलाई कसरी सामान्य रुपमा लिने ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।

कांग्रेस सहमहामन्त्री यादवले संसद्को सबभन्दा ठूलो दललाई प्रतिपक्षमा राखेर देश नचल्ने ठोकुवा पनि गरे । उनले भने, ‘जनमत नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊ भनेर छ । तर तेस्रो पार्टीको नेतृत्वमा सातआठ दल मिलेर सरकार बनाएका छन् । यो गठबन्धन चल्दै चल्दैन । सरकार पनि लामो समय जाँदै जाँदैन । संसद्को सबभन्दा ठूलो दललाई प्रतिपक्षमा राखेर देश कसरी चल्छ ? सरकार कसरी चल्छ ? सबै दलहरु केही दिनमा नेपाली कांग्रेसको नेतृत्वमा गोलबन्द हुन आउँछन् । केही दिन, केही महिनाभन्दा बढी धान्नै सक्दैन ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले जालझेल र षडयन्त्र गरेर सरकार बनाएको आरोप पनि उनले लगाए । यादवले भने, ‘हामीले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने निर्णय गर्यौं । तर हाम्रै निर्णय लागू गर्नुपर्छ भन्ने थिएन । तर ओलीले गठबन्धन तोड्न अनेक जालजेल र षड्यन्त्र गर्नुभयो । राजनीतिमा पनि धर्म हुन्छ । नैतिकता हुन्छ । देउवालाई निर्णयमा अडिराख्नू भन्नुभयो, प्रचण्डलाई प्रधानमन्त्री बनाउँछु पनि भन्नुभयो । छेपाराले जति खेर पनि रंग बदल्छ भन्ने देखियो ।’

शेरबहादुर देउवालाई जनताले पार्टी सभापति र संसदीय दलको नेता छोड नभनेको दाबी पनि उनले गरे । यादवले थपे, ‘भर्खर संसदीय दलको नेतामा दुई तिहाइ मत पाउनुभयो । अब अर्को चोटि सभापति लड्नै पाउनुहुन्न । हामीले छोडाउनै पर्दैन । अब सबै पुस्ता एकढिक्का भएर पार्टीलाई बलियो पार्ने अभियानमा लाग्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय