घर-घरमा प्रसाद डेलिभरी साथै पशुपतिमा अनलाइनबाटै पूजा गर्न सकिने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा ‘ई-पूजा’ सेवा सुरु गर्ने भएको छ । कार्य व्यस्तता तथा अशक्तताका कारण चाहेर पनि पशुपतिनाथ मन्दिरमा स्वयं उपस्थित भएर पूजा गर्न आउन नसक्ने भक्तजनलाई ध्यानमा राख्दै विकास कोषले यो सेवा सञ्चालनमा ल्याउन लागेको हो ।

अनलाइनबाट बुकिङ गरिएको पूजाको सम्पूर्ण आवश्यक जानकारी तथा रसिद सम्बन्धित भक्तजनलाई ईमेलमार्फत प्रदान गरिने जनाइएको छ ।

साथै विशेष पूजाको प्रसाद विश्वका जुनसुकै स्थानमा कुरियर गर्ने व्यवस्था समेत रहेको छ ।

अनलाइन मार्फत भक्तजनहरूले पञ्चामृत पूजा, बालभोग सहित पञ्चामृत पूजा, रुद्रभिषेक र बालभोग सहित पञ्चामृत पूजा, लगुरुद्रभिषेक र पुराभोग सहित पन्चामृत पूजा, रुद्रभिषेक, पुराभोग, सवा लाख बत्तीद्वारा आरती, विशेष पूजा लगायतका पूजा गर्न सक्नेछन् ।

भक्तजनले अनलाइनबाट ११ सय रुपैयाँदेखि आठ लाख एक रुपैयाँसम्मको पूजा गर्न सक्नेछन् ।

पशुपतिनाथको ई-पूजा बुक गर्न प्रयोगकर्ताले ‘श्री पशुपतिनाथ टेम्पल’ नामक मोबाइल एप डाउनलोड गरेर आफ्नो पूजाको लागि दिन र समय बुक गर्न सक्नेछन् ।

त्यसैगरी भक्तजनहरूले अनलाइनमार्फत नै पूजाको भुक्तानी पनि गर्न सक्नेछन् ।

यो एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ । साथै पशुपति क्षेत्र विकास कोषको आधिकारिक वेबसाइटबाट पनि यो सेवा लिन सकिन्छ ।

केही प्राविधिक तयारी सम्पन्न भएपछि यो सेवा छिट्टै सञ्चालनमा आउने जनाइएकाे छ ।

कोषका अनुसार भक्तजनहरुले संसारका जुनसुकै स्थानबाट अनलाइन बुकिङमार्फत पशुपतिनाथमा दैनिक रुपमा सञ्चालन हुने पूजा सजिलैसँग गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय